Facebook

banner image
banner image

फुस्कियो के पी ओलीको रास्ट्रवादको धोति

केही समय अगाडी मात्रै पाकिस्तानका प्रधानमन्त्री साहिद आब्बासी नेपाल आएर फर्के, उनको त्यो नेपाल भ्रमणबारे कसैलाई अत्तोपत्तो नै भएन । न त उनी गुड्ने सडक रातारात मर्मत भए न त झोलुङ्गो झैँ सडक छेउका पोलमा झुन्डिएका तार नै सम्हालिए । आब्बासी मात्रै होइनन् भारत बाहेक अन्य कुनै पनि देशका विशिष्ट अतिथीको नेपाल आगमनमा यस्तो सजावट र सार्वजानिक विदासम्म दिएको पाइँदैन । पहिलो पटक मोदी नेपाल आउँदा तत्कालीन सुशिल कोइराला नेतृत्वको सरकारले उनको भ्रमण अवधिभर सार्वजानिक विदा दिएर एउटा नौलो इतिहास सृजना गरेको थियो । यसपटक कसो केन्द्रीय सरकारले विदा दिन भुलेछ, तर प्रदेश २ मा भने सार्वजानिक विदा मात्रै होइन प्रत्येक घरघरबाट मोदीको स्वागतमा निस्कन उर्दी जारी गरियो । जबकी नेपालमा शाही साशनकालमा पनि राजाको स्वागतमा यसरी सडकमा लामबद्ध भएर जनताले स्वागत गरेको इतिहास मेरो मानसपटलमा छैन । मोदी माहाराजको सवारी हुँदा नेपालीजनलाई किन यस्तो शास्ती दिएको ? भूकम्पको मारमा परेका बेला नाकाबन्दी गरेर नेपालीलाई शास्ती दिने उनै माहाराजको सवारी हुँदा उल्टै नेपालीलाई नै शास्ती ? राष्ट्रबादका कुरा गर्नेको छिमेकीका सामु आवश्यकता भन्दा पनि बढी लुत्रुक्क पर्ने कस्तो काइदा राष्ट्रबाद हो यो ? बिदेशी पाहुना हुन् या स्वदेशी राजा देखि राष्ट्रपतिसम्मको सवारी हुँदा सडक अबरुद्ध त हुने गरेकै थिए यसलाई पनि हामी लोकतन्त्र भनिरहेकै छौँ तर यसपालीको मोदीको आवागमनमा हवाइमार्ग समेत अबरुद्ध पारियो । आखिर बिदेशी पाहुनालाई दिएको यो सम्मानले आफ्नै देशका जनतालाई परेको मार कसले देख्ने ? सत्ता बाहिर छँदा उछित्तो काड्ने र सत्तामा पुगेपछि वालुवाटार छिरेको महिना दिन पनि नपुग्दै भारततिर हामफाल्ने परम्पराले एकाध प्रधानमन्त्री बाहेक ओलीको दोस्रो कार्यकालसम्म पनि निरन्तरता पाइरहेकै छ । यो नै भारतसामु नेपालको लम्पसारबादको एउटा गतिलो प्रमाण हो । 

Image result for narendra modi in nepal
भारतीय नाकाबन्दी जारी रहेकै बेला पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले आपूmलाई कट्टर राष्ट्रबादी देखाउन सकेसम्म प्रयास गरे चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउन निकै जोड दिए तर फेरी पनि दक्षिणतिरकै हावाले उनलाई हानीरह्यो । आफ्नै देशमा पानी जहाज चलाउने, घरघरमा ग्याँसका पाइप जोडिने, हावाबाट बिजुली निकाल्ने जस्ता कुरा गरेर निकै चर्चा कमाएका ओलीले बोलेका एउटै पनि कुरालाई व्यवहारमा उतार्न सकेनन् । त्यसैले गर्दा उनलाई धेरैले खोक्रो राष्ट्रबादको संज्ञा दिए अन्नतः अहिले आएर त्यो सबित भइछाड्यो । जति चर्को राष्ट्रबादको कुरा गरेपनि उनी पहिलो कार्यकालमा भारत भ्रमणमा जाँदा नाकाबन्दी गर्नुको कारण के थियो भनेर सोध्ने आँट गर्न सकेनन् । ताकी उनी भारतको कट्टर आलोचकका रूपमा चिनिएका थिए । यता जति नै कुर्र्लिए पनि उता पुगेपछि प्रभुको छायाँ पर्नासाथ सबै होसहवास गुमाउनेमा ओली पनि चुकेनन् । घरको बाघ वनको स्याल भनेजस्तो प्रवृत्ति ओलीमा पनि प्रष्ट्रैसँग देखियो । उनीपछि प्रचण्ड र शेरबहादुर देउवा पनि प्रधामन्त्रीको हैसियतमा भारत पुगेका थिए । नाकाबन्दीका बेला साइकल चढेर हिँडिन्छ तर कसैसँग झुकिन्न भन्ने प्रचण्डले पनि नाकाबन्दीको बारेमा कुरा उठाएनन् भने नाकाबन्दीका बेला पूरै मौन बसेका देउवाले झन् त्यो बारेमा कुरा उठाउने कुरै भएन । ओलीले आपूm दोस्रो प्रधानमन्त्रीको हैसियतमा एक महिना अगाडि गरेको भारत भ्रमणमा पनि नाकाबन्दीका बारेमा कुरा उठाएनन् । भारत जाँदा नाकाबन्दीको कुरा उठाउने आँट गर्न नसके पनि आफ्नो देशमा आएका बेला त्यसबारे कुरा उठाउने आँट गर्न सकेको भए आफ्ना पक्षमा केही दह्रो भई प्रस्तुत भएको महशुस गर्ने आधार भेटिन्थ्यो । भर्खरै सम्पन्न मोदीको नेपाल भ्रमणका बेला पनि त्यसबारेमा कुरा उठेको कहीँ कतै सुनिएन र पढ्न पाइएन । यहाँ पनि राष्ट्रबादको कुनै छनक भेटिएन । बरु मोदीलाई नेपालबाटै पोशाक सिलाएर पठाउनु, काठमाडौँमै उत्रिने पाहुनालाई जनकपुरसम्म गएर स्वागत गर्नुले नेपालले भारतमा नाकाबन्दी गरेको र उसले त्यसप्रति क्षमा याचना गरेको जस्तो पो महसुस हुन्छ ।
सामाजिक सञ्जालमा केही राजनीतिक पार्टी, राजनीतिक व्यक्तित्व लगायत लाखौँ मानिसले मोदीले आफूले गरेको नाकाबन्दीप्रति आत्मालोचना गर्न अनुरोध गरिरहेका बेला यो सरकारले आवश्यकता भन्दा निकै बढी मोदीको चाप्लुसी गरेकोमा धेरैले आक्रोस प्रकट गरेको देखिन्छ । नरेन्द्र मोदी त्यस्ता दुई जिब्रे व्यक्ति हुन् उनकै पालामा भारतीय पक्षबाट सबैभन्दा बढी नेपालको प्रशंसा भयो भने उनकै पालमा नेपाली जनताले सबैभन्दा बढी शास्ती पनि पाए । प्रधानमन्त्री भएपछिको आफ्नो दोस्रो वैदेशिक भ्रमणका क्रममा नेपाललाई रोजेका मोदीले भारतका तर्फबाट १८ वर्षदेखि हुन नसकेको उच्चस्तरीय नेपाम भ्रमणमा ब्रेक लगाउनुका साथै उनकै पालामा २३ वर्षदेखि हुन नसकेको बिदेशमन्त्रीस्तरीय भ्रमण पनि गराए र तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गराउन पनि सफल भए । पहिलो पटक नेपाल आउँदा उनले नेपाल र नेपालीप्रति देखाएको सहानुभूति र सदासयताले त्कालीन समयमा नेपाली जनताका तर्फबाट चर्कै वाहावाही पनि पाएका थिए । तत्कालीन समयमा भएको नेपाल भ्रमणमा मोदीले तत्कालीन संविधानसभा लगायत विभिन्न ठाउँमा गरेका सम्बोधनमा नेपाल र नेपालीप्रतिका सकारात्मक भनाइहरूबाट धेरै आशावादी भएका जनता संविधान जारी भएसँगैको भारतीय नाकाबन्दीबाट निराश भएका थिए भने त्यससँगै मोदीको सक्कली रूप पनि छर्लङ्ग भएको थियो ।
नेपाली जनता माथि भएको अपमान र नेपाली जनतालाई पर्न गएको आघात चुनाव जितेपछिको एउटा राजनीतिक दलको नेतासँगको पटकपटकको टेलिफोन वार्ता र बधाई आदानप्रदानले मात्रै क्ष्यम्य हुँदैन । छिमेकी मुलुकसँग बिग्रेको सम्बन्ध सुधार्नको लागि आफ्नो देशको भ्रमणको निम्तो र चुनाव जितेकामा बधाइ दिएर मात्रै पर्याप्त हुँदैन छिमेकी मुलकको संविधान आफू अनुकूल नभएकै कारण नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुन जान्छ । भारतले आपूmले गरेको गल्ती अझैसम्म पनि महसुस गरेको छैन उसले गाल टार्नैका लागि भएपनि बल्लतल्ल नेपालको संविधानलाई स्वीकार गरेको छ । छिमेकी मुलुकले छिमेकी मुलुकमाथि सिधै कुनै पनि किसिमको हस्तक्षेप गर्नु उसको दायित्वभित्र पर्दैन र त्यो उसको अधिकार पनि होइन । यदि ओली साँच्चै राष्ट्रबादी बनेर देखाउन चाहान्थे भने दुवै पटक प्रधानमन्त्री हुँदा भारतलाई बैदेशकि यात्राको दोस्रो क्रममा राख्न पनि सक्थे तर उनमा त्यस्तो आँट नै आएन किनकी ठूल्दाईसँगको सम्बन्ध सिधै सत्ताको कुर्सीसँग जोडिएको हुन्छ । प्रभुको आशिर्वाद बिना नेपालको सत्ता टिक्दैन । बिगतको भन्दा अहिलेको परिस्थिति फरक थियो । अहिलेको सरकार यसभन्दा पहिलेको भन्दा बलियो सरकार हो । यही आफू बलियो भएको अवस्थामा हो आफ्नो कुरा प्रष्टसँग राख्न सक्ने तै पनि ओलीमा त्यो क्षमता देखिएन जबकी उनी आफ्ना भाषणमा भारतप्रति जति कडा रूपमा प्रस्तुत हुने गर्छन् ।
Image result for narendra modi in nepal
२०७२ सालको महाभूकम्पको पीडा भोगिरहेका बेला नेपालमा संविधान पनि बन्ने क्रममा नै थियो । संविधान बन्दै गर्दादेखिको भारतको असन्तुष्टि संविधान जारी भएपछिको नाकाबन्दीमा पोखियो । राजनीतिक यात्राको लामो समयसम्म भारतसँगको लम्पसारबादबाटै बामे सर्दै आएका खड्गप्रसाद ओली नाकाबन्दी जारी रहेकै बेला प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका थिए । उनी प्रधानमन्त्रीमा चुनिएपछि पनि भारतको प्रतिबाद गर्न भने छोडेनन् त्यसो त उनी प्रधानमन्त्री भएपछि भारतले केही दिन नाकाबन्दी थोरै खुकुलो पारेपनि त्यसलाई पुनः कस्दै लग्यो । भाषणमा जति चर्को प्रतिबाद गरे पनि ओलीले तत्कालीन अवस्थामा भारतबाट नेपाल आयात हुने कुनै पनि वस्तु अन्य मुलुकबाट नेपाल आयात गराएर नेपाली जनताको आवश्यकता पूर्ति गर्न भने सकेनन् । भारत त्यस्तो छिमेकी मुलुक हो जसले करिब ७२ ठाउँमा नेपालको सीमा मिचेको छ । कोशी वरिवरीका नेपाली डुवानमा पर्दा रमिता हेरर बस्ने तर पनि बाँधको ढोका खोल्न नदिने हाम्रो घनिष्ट छिमेकी देश हो भारत । आफ्नो देशको सीमा जोगाउन जाँदा भारतीय सुरक्षाकर्मीको गोली खाएर मर्ने गोविन्द गौतम जस्ताको हत्यारालाई संरक्षण दिइराख्ने घनिष्ट छिमेकी मुलुक हो भारत ।
ठाउँमा नपुग्दा राष्ट्रबादका कुरा गर्ने ठाउँमा पुगेपछि उही लम्पसारबाको बिस्तारामा सुत्ने नेपालका अरु प्रधानमन्त्रीले जस्तै ओलीले पनि आप्mनो नाम सुरक्षित गर्न सफल भएका छन् । फोस्रा राष्ट्रबादका कुराले कसैलाई फाइदा पुगेको छ भने उनै केपी ओलीलाई पुगेको छ किनकी त्यही राष्ट्रभक्तिका भाषणले उनी आजाको ठाउँमा पुग्न सफल भएका छन् ठाउँमा नपुग्दा राष्ट्रबाद र ठाउँमा पुगेपछि उही लम्पसारबादको टोकरीमा अटाउन सफल ओलीको राष्ट्रबादको धोती अन्नत करिब तीन वर्षभित्रै फुस्किन पुगेको छ ।

सुजन देवकोटा
फुस्कियो के पी ओलीको रास्ट्रवादको धोति फुस्कियो के पी ओलीको रास्ट्रवादको धोति Reviewed by az news nepal on May 13, 2018 Rating: 5

No comments:

Powered by Blogger.